प्राविधिक शिक्षा बारे निबन्ध

प्राविधिक शिक्षा भन्नाले शिक्षण परिपाटीको त्यो पाटो हो जसले विज्ञान तथा
प्रविधिसम्बन्धी आवश्यक ज्ञान, सीप तथा तालिम भन्ने बुझाउँछ। अर्को शब्दमा कुनै
पनि कार्यको प्रविधि सिकाउने शिक्षणलाई प्राविधिक शिक्षा भन्न सकिन्छ। प्राविधिक
शिक्षाका कारण राष्ट्रको विज्ञान तथा प्रविधिका विविध पक्षमा दक्ष भई व्यक्ति तथा
समाजका प्रविधिगत महत्त्वकाङ्क्षा पूरा गराउन सक्षम बनाउँछ। शिक्षाका नाममा बौद्ध
शिक्षा, गुरूकुलीय शिक्षा त प्राचीन कालदेखि नै नचलेका होइनन् । आज विज्ञान र
प्रविधिका क्षेत्रमा विकसित राष्ट्रहरूले धेरै फड्को मारिसकेको हुँदा र आजका
समस्याहरू पनि विज्ञान र प्रविधिसम्बन्धी नै हुने गरेकाले युग नै विज्ञान र प्रविधिको
भैसकेको छ। यस परिस्थितिलाई नियाल्दा प्राविधिक शिक्षामा जोड दिनु आजको
टड्कारो आवश्यकता बनेको छ।
प्राचीन शिक्षाका साना गोरेटाले आधुनिक शिक्षाका राजमार्गसम्म पुग्न मार्ग प्रशस्त
गरिदिएको हुँदा यसले नै विज्ञान र प्रविधिका अनन्त सम्भावनाको ढोका खोलिदिएको
छ । आज परिवारदेखि राष्ट्र हुँदै विश्वको कुशल सञ्चालन तथा व्यवस्थापनमा
शिक्षाले नै महत्त्वपूर्ण भूमिका खेलेको छ। प्राचीन कालको शिक्षाको साँघुरो क्षेत्र आज
विस्तृत र व्यापक बनिसकेको छ । एक्काइसौं शताब्दीमा मानवीय चाहना र
आवश्यकता पनि त्यतिकै व्यापक बनिसकेका छन् । ती आवश्यकता र चाहना
प्राविधिक शिक्षासँग सम्बन्धित भएका हुँदा प्राविधिक शिक्षा आजको आवश्यकता
बनेको छ । प्रविधिक शिक्षामा भूगोल, चिकित्सा, इञ्जिनियरिङ, कम्प्यूटर, कृषि,
रसायनशास्त्र, भौतिक शास्त्र, विज्ञान र जीव विज्ञान जस्ता अनेक विषयहरूको
अध्ययन गरिन्छ । हवाइजहाज, रकेट रोबर्ट टेलिभिजन, रेल र इन्टरनेट जस्ता
विषयहरूमा गरिने अध्ययन प्राविधिक शिक्षा अन्तर्गत नै पर्दछन् । त्यसैले मानिसलाई
अत्यावश्यक पर्ने खानपान, यात्रा, गृहनिर्माण, नहर, लत्ताकपडा, मनोरञ्जनका साधन
आदि कुराको प्राप्तिका लागि प्राविधिक शिक्षा नै अन्तिम उपाय हो। दक्ष जनशक्ति
उत्पादन गर्न प्राविधिक शिक्षाको आवश्यक पर्दछ।
आज राष्ट्रमा नयाँ उपलब्धि हासिल गर्न, नयाँ दिशा प्राप्त गर्न, बेरोजगारी समस्या
हल गर्न, नागरिकलाई आत्मनिर्भर बनाउन जस्ता कैयौँ जल्दाबल्दा समस्या समाधानार्थ
प्राविधिक शिक्षामा जोड दिनुपर्ने देखिन्छ। सधैं विदेशी जनशक्तिको भर पर्नाले राष्ट्रिय
अर्थतन्त्र बाहिरिने तथा सधैं विदेशीकै मुख ताकेर बस्नुपर्ने जस्ता कुरालाई मध्यनजर
राखी सरकारले यसतर्फ समयमै सकारात्मक पाइला चाल्ल जरूरी भैसकेको छ ।
अभिभावक वर्गले पनि आफ्ना बालबालिकाको पढाइको स्तर पत्ता लगाई सो
अनुकूलको वातावरण तर्जुमा गर्न सकेमा राष्ट्रका आवश्यक जनशक्तिका लागि
भविष्यमा विदेशीकै मुख ताक्नुपर्ने थिएन। .
Comments
Post a Comment